विचार/अन्तरवार्ता

एक्लो, फगत एक्लो.....नेता ढुंगेलको जीवनयात्रा

विहीबारका अधिकांश अखबारमा कांग्रेस नेता रामहरि ढुंगेलको असामयिक निधन भएको खबर आयो । डिल्लीबजारस्थित डेरामा सुतेकै ठाउँमा मृत्यु भएको भनिएका पूर्वसहायक मन्त्री एवं पूर्वसांसद रामहरिबारे अनलाइनखबरले बाटुलेघरमा पुगेर केही सोधखोज गरेको छ ।

डिल्लीबजारस्थित बाटुले घरबाट थोरै भित्र छिरेपछि भाष्कर मार्ग आउँछ । त्यहाँ गल्लीभित्र भेटिन्छ घर नम्बर ३६ । यो निकै पुरानो घरभित्र छिरेपछिको पहिलो तल्लाको छेउमै तल्चा मारिएको एउटा कोठा भेटियो ।

एक त घर नै पुरानो छ । त्यसमा पनि त्यो छेउको सामान्य कोठा झनै भग्न देखिन्छ । त्यही कोठामा भाडामा बस्थे रामेछापका पूर्वसांसद रामहरी ढुंगेल ।

पेशाले राजनीतिज्ञ । मुलुककै सबैभन्दा ठूलो पार्टी नेपाली कांगे्रसका नेता । कुनै जमानामा कृषि सहायक मन्त्रीसमेत बनिसकेका । प्रत्यक्ष चुनाव जितेर सांसदसमेत बनिसकेका नेताको बसाइ यस्तो टीठलाग्दो कोठामा भइरहेको थियो रु पत्याउनै नसकिने । तर, पत्याउनैपर्छ । किनभने सत्य यही थियो ।

बिहीबार बिहान ढुंगेलको मृत्यु भएको खबर पाउनुअघिसम्म डिल्लीबजारका रैथानेहरु बाहेक कांगे्रसका कमै नेताले ढुंगेलको यो भाडाको कोटरी देखेका थिए होलान् । तर, वीपीको मार्गदर्शन नत्यागेका नेताका लागि मन्त्री हुँदा भित्रिने कालो धनबाट पाइने आरामको जिन्दगी भन्दा सादगी नेता ढुंगेलका लागि यही कोटरी नै ठूलो थियो । प्यारो थियो ।

त्यागी नेता रामहरिले यही कोठामा आफुना जीवनका २० वर्ष बिताए । र, यहीँ प्राण त्याग गरे ।

गुमनाम जिन्दगी, सुटुक्कै मरण

बिहीबार डिल्लीबजारस्थित ध्रु बको पत्रिका पसलमा सित्तैमा सूचना लिनेहरुको भिड अघिल्ला दिनहरुमा जस्तै थियो । पत्रिका पसले धु्रब सापकोटाको ध्यान पत्रपत्रिकामा थिएन । पत्रिका पढ्नेहरुको भीडमा सापकोटाका आँखाले उनै रामहरिलाई खोजिरहेका थिए ।

तिलचामले दाह्री पालेका हँसमुख ढुंगेल प्रत्येक दिन बिहान ध्रुवको पत्रिका पसलमा आउँथे र ‘के छ ध्रुव भाइ रु’ भन्थे । अनि, पत्रपत्रिका हेर्थे ।

बिहीबार उनी त्यहाँ आएनन् । र, अब कहिल्यै आउँदैनन् ।

बुधबार अपरान्ह करिब तीन बजेतिर पत्रिका पसलमा धु्रब आफ्नै काममा व्यस्त थिए । ‘के छ धु्रब भाइ’ भन्दै ढुंगेल आइपुगे । सापकोटा सम्झन्छन् ‘रामहरी दाइले केहीबेर पत्रिका हेर्नुभयो, राजनीतिक अवस्थाका बारेमा सामान्य कुराकानी भयो । त्यसपछि खाजा खान जानुभयो । खाजा खाएर चाररपाँच बजेतिर बेलुकाका लागि रोटी र तरकारी प्याक गरेर कोठातिर लागेको मान्छे राति नै मृत्यु भयो भन्दा पत्याउनै गाह्रो परिहेको छ ।’

बिहान पाँच बजे नै उठेर आफ्नो कर्म सकेपछि धु्रबको पत्रिका पसलमा पत्रिका पढ्न आइपुग्ने ढुंगेललाई लत बसेको लगभग दुई दशक भैसकेको थियो । ध्रुवले अनलाइनखबरसँग भने( ‘हिजो सामान्य अवस्थामै देखिएका मान्छे, आज छैनन् भनेर कसरी पत्याउनु रु मलाई त साँझ फेरि धुब्र भाइ भन्दै आउँछन् कि जस्तो लागिरहेको छ ।’

२० वर्ष एउटै कोठामा, तर कोठामा खाना पाकेन

रामेछापबाट काठमाडौं आएदेखि रामहरी ढुंगेलले डिल्लीबजार क्षेत्रमै डेरा गरेर बसे । सुरुमा चारखाल नजिकै बसेका ढुंगेल विगत २० वर्षदेखि एउटै कोठामा बस्दै आएका थिए । तर, उनको कोठामा कहिल्यै खाना पाकेन ।

दश वर्षदेखि त्यही घरमा बस्दै आएका सुरज विष्ट सम्झन्छन्( ‘कोठामा पकाउने सबै सामानहरु त छन् तर रामहरि दाइले कहिल्यै खाना पकाएको देखिएन ।’

नेवि संघको राजनीति गरिरहेका विष्टले ढुंगेललाई त्यही घरमा बस्दा चिनेका हुन् । ‘आफू पनि विद्यार्थी राजनीतिबाट आएकाले होला, रामहरी दाइ सधंै मलाई पनि राजनीति पैसाले होइन, विचारले गर्नुपर्छ भन्नुहुन्थ्यो । उहाँका लागि सुखको र मोजको जीवन कहिल्यै आएनजस्तो लाग्छ ।’

वीरेन्द्र बस्नेत र गोविन्द पन्त, जो रामहरि बसेकै घरमा डेरा गरी बस्छन्

विष्टले थपे ‘रामहरि दाइले पार्टीको केन्द्रीय सदस्यमा उठ्दा चिया खुवाउने पैसा भएन भन्नुहुन्थ्यो । यस्ता नेता नेपाली कांगे्रसका कति होलान् र ’
ध्रुब सापकोटालाई जस्तै ०६५ सालदेखि सोही घरमा बसेर ढुंगेलको दैनिकी देखेका वीरेन्द्र बस्नेतलाई पनि रामहरि ढुंगेलको निधन भएको पत्यारै लागिरहेको छैन । बस्नेतले अनलाइनखबरसँग भने( ‘बुधबार बेलुका छातीमा केही समस्या भयो भन्दै हुनुहुन्थ्यो । राति १० बजेतिर हामीले हिमाल अस्पताल लग्यौं । अस्पतालले ग्याष्ट्रिक हो भनेर फिर्ता पठाइदियो । हरेक दिन पाँच बजे उठ्ने मान्छे आज बिहान नउठेपछि बिहान हेर्दा जसरी सुतेको, त्यही अवस्थामा मृत भेटिनुभयो ।’

बस्नेतले भेटेदेखि नै नेता ढुंगेलले कहिल्यै मीठो मसिनो खाएनन् । प्रायः मकै, उसिनेको खाना र सामान्य रोटी तरकारीमै उनको दैनिकी चलिरहेको थियो ।

अध्ययनका लागि सोही घरमा डेरा बसेका गोविन्द पन्त पनि रामहरी ढुंगेल जस्तो सादा जीन्दगी बिताउने नेता आफुले अहिलेसम्म नदेखेको बताउँछन् । पन्तले अनलाइनखबरसँग आफ्नो अनुभूति यसरी सुनाए( ‘म यो घरमा बसेको धेरै भएको छैन, तर पनि उनको दैनिकी देखेर यस्ता पनि नेता छन है जस्तो लाग्ने !’

मन्त्री हुँदा पनि डिल्लीबजारै प्यारो

एउटै घरमा २० वर्ष बिताएका रामहरि ढुंगेलका लागि डिल्लीबजारको डाँडो भन्दा प्यारो ठाउँ काठमाडौंमा अन्त कतै लागेन । ढुंगेललाई २२ वर्ष अघिदेखि चिनेका धु्रब सापकोटा उनी राज्यमन्त्री हुँदाको अनुभव सुनाउँदै भन्छन् ‘०५६ सालतिर जस्तो लाग्छ, उहाँ कृषि सहायक मन्त्री हुनुभो । तर, बिहानै हिँडेर पत्रिका पढ्न आइपुग्नुहुन्थ्यो । यसो गर्दा प्रहरीहरु पसिना(पसिना हुन्थे । मन्त्री भएको मान्छे, अरु त चिल्लो गाडी चढेर हिँडछन् यी बुढा के भएका होलान् भन्दै एक दिन त उनीसँगै आउने सुरक्षाकर्मीले समेत मसँग गुनासो गरे ।’

ढुंगेलले डेरा लिएर बसेको घर पूर्वआइजीपी अच्युतकृष्ण खरेलका भाइको हो । तर घरबेटीहरु त्यहाँ बस्दैनन् । एकजना महिलालाई भाडा उठाउने जिम्मा दिइएको भाडावालहरु बताउँछन् ।

‘कहिले काँही ती महिलाले ढुंगेलको दैनिकी देखेर भाडा बढेको छ, अन्तै कोठा सर्नु पनि भनिन् तर किन हो, ढुंगेलले कहिल्यै त्यो कोठा छाडेनन्’ एकजना भाडावालले भने( अन्ततः उनले यहीँ प्राण त्यागे,’ त्यही घरमा भाडामा बस्ने अर्का एकले सुनाए ।

डिल्लीबजारको चिया पसल रामहरिको कर्मथलोजस्तै थियो भने पनि फरक पर्दैन । बाटुलेघर छेउको सामान्य चिया पसलमा इतिहासबार डा। सुरेन्द्र केसी र बरिष्ठ अधिवक्ता बोर्णबहादुर कार्कीहरुसँग ढुंगेललाई भेट्न सकिन्थ्यो ।
मन्त्री हुँदा पनि ढुंगेल झण्डावाल गाडी नचढी त्यहीँ चिया पिउन आउँथे, जुन परिघटना उनको पहिचानजस्तै बन्न पुगेको थियो । कतिपयले उनलाई ‘डिल्लीबजारका मन्त्रीजी’ समेत भन्ने गर्थे ।

रामहरिको राजनीतिक यात्रा

कांग्रेस नेता रामहरिले ०५६ सालको चुनावमा रामेछाप क्षेत्र नं २ बाट चुनाव जितेका थिए । सो क्षेत्रमा उनले एमालेको समेत समर्थन पाएका अमिक शेरचनलाई हराएका थिए । सोही क्षेत्रबाट ०४८ सालमा चुनाव जितेका पूर्वसांसद कमल चौलागाई नेकपा मालेबाट चुनाव लडेर तेस्रो बनेका थिए ।

सांसद बनेपछि केही समय सहायक मन्त्री बनेका ढुंगेल राजनीतिमा त्यो भन्दा माथि कहिल्यै जान सकेनन् ।

त्यसो त ०६४ सालको पहिलो संविधानसभामा पनि नेपाली कांग्रेसले उनलाई रामेछाप २ मा टिकट दिएको थियो । तर, सो चुनावमा ढुंगेल तेस्रो स्थानमा खुम्चिए ।

पहिलो संविधानसभामा रामेछाप(२ बाट माओवादीका डिल्लीमान तामाङ विजयी भएका थिए भने एमालेका कैलाश ढुंगेल दोस्रो र रामहरी तेस्रो बनेका थिए ।

दोस्रो संविधानसभामा कांग्रेसले सो क्षेत्रमा रामहरिलाई टिकट दिएन । पछिल्लो चुनावमा सो क्षेत्रबाट माओवादीका श्यामकुमार श्रेष्ठ सांसद छन् ।

रामेछापको पकरबास गाविसमा ढुंगेल मध्यम वर्गको सामान्य परिवारमा जन्मिएका हुन् । सो गाविस अहिले खाँडदेवी गाउँपालिकामा रुपान्तरित भएको छ ।

रामहरि पञ्चायतकालमा नेपाल विद्यार्थी संघबाट कांग्रेसको राजनीतिमा प्रवेश गरेका हुन् । पञ्चायतकालको उत्तरार्धमा भएको स्ववियु चुनावमा उनी त्रिचन्द्र क्याम्पसमा नेविसंघका तर्फबाट स्ववियु सभापतिमा विजयी भएका थिए ।

सो चुनावमा ढुंगेलले आफ्नै भाइ ९काकाका छोरा० कैलाश ढुंगेललाई चुनाव हराएका थिए । त्यसबेला अखिलको नेता रहेका कैलाश अहिले पनि एमालेमै छन् । उनी दूग्ध विकास बोर्डमा छन् ।

रामहरिको पारिवारिक पृष्ठभूमि राजनीतिक छ । हाल बिरामी अवस्थामा रहेका राप्रपाका नेता इन्द्रप्रसाद ढुंगेल नाताले रामहरिका काका हुन् । त्यस्तै एमालेका केन्द्रीय सदस्य एवं अखिलका पूर्व नेता माधव ढुंगेल नाताले रामहरिका भाइ हुन् । रामहरिका अर्का भाइ रत्नहरि ढुंगेल नेविसंघको केन्द्रीय कमिटीमा छन् ।

एक्लो, फगत एक्लो

उमेरले ६० वर्ष कटेका ढुंगेलले सुतेकै अवस्थामा मृत्युवरण गर्दा परिवारका अन्य सदस्य कोही थिएनन् । उनलाई कोठामा तातोपानी तताएर खुवाउने पनि कोही थिएनन् । मृत ढुंगेलको ओछ्यानमा थोरै बान्ता गरेको जस्तो भेटिएको थियो । कोठामा त्यो बान्ता पुछिदिने न उनकी पत्नी थिइन्, न त छोराछोरी नै ।

रामहरि एक्लो नहोउन् पनि किन रु रामहरिले जीवनमा विवाह नै गरेनन् ।

रामहरिको जीवनशैली जस्तो सादगी थियो, उनको स्वाभाव पनि त्यस्तै थियो । उनी कसैलाई भनी बिझाउँदैनथे । त्यसैले त जिल्लामा उनलाई कांग्रेस भएता पनि कम्युनिष्टहरुले पनि उत्तिकै सम्मान गर्थे ।

तर, कोठामा खाना पकाएर खुवाउने कोही नभए पनि रामहरि एक्लो भएनन्, उनले जीवनमा धेरै इष्टमित्र र आफन्त कमाए ।

ढुंगेलको अन्त्येष्टिपूर्व नेपाली कांग्रेसले उनको पार्थिव शरीरलाई विहीबार पार्टी कार्यालय सानेपामा राखेर सम्मान प्रकट गर्‍यो ।

प्रतिकृया दिनुहोस