विचार/अन्तरवार्ता

आउने निर्वाचनमा महिलालाई चुनौति र अवसर दुवै : दाहाल

उदयपुर जिल्लाको रुपाटार भन्ने स्थानमा २०३३ साल फाल्गुण ४ गते जन्मिएकी गंगा दाहालले आफ्नो बैवाहिक जिवन यात्रा पश्चात २०६० साल देखि नेपाली कांग्रेसको भातृ संगठन नेपाल महिला संघबाट राजनीति सुरुवात गरेकी हुन् । उनी यतिबेला नेपाल महिला संघ सिन्धुलीको जिल्ला सभापति छिन् । त्यति मात्र नभई महिला मानव अधिकार, लोकतान्त्रिक गैसस, जिल्लाको सक्रिय गै्रहसरकारि संस्था हाम्रो प्रयास नेपाल जस्ता सस्थामा उच्च ओहोदामा वसेर सामाजिक क्षेत्रमा पनि उत्तिकै क्रियाशिल दाहाल आउदो बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा आफूलाई दुधौली नगरपालिकाको मेयर पदका लागि दाबेदार ठान्छिन् । सक्षम महिलाहरूलाई अब कांग्रेसले मात्र नभई देशमा रहेका सबै पार्टीहरूले मेयर लगायत नेतृत्व तहमा पु¥याउनुपर्ने मान्यता राख्ने गंगा दाहाल राजनीतिसँगै सामाजिक सेवामा पनि उत्तिकै सक्रिय छिन् । उनै दाहालसँग स्थानीय निकायको निर्वाचनको सेरोफेरोमा केन्द्रित रहेर पत्रकार पुस्कर सहयात्रीले गरेको कुराकानी यहाँ प्रस्तुत गरिएको छ ।

राजनीति र सामाजिक रूपमै यत्ति धेरै सक्रिय हुनुहुन्छ । कसरी समयको म्यानेज गरिरहनुभएको छ ?
महिला भएकै कारण चुनौतिहरू छन् । महिलाकै कारण समाजमा अगुवाइ गर्न कठिन छ । तर मेरो घरपरिवार र श्रीमानबाट सक्दो सहयोग मिलेका कारण म अहिलेसम्म अगाडि बढिरहेकी छु । समाजमा अनेक खालका आरोपहरू पनि आए त्यसलाई मैले संघर्षका रूपमा लिएँ । म कतैबाट विचलित नभई समाजमा सकारात्मक परिवर्तनका लागि, महिलामाथि हुने हिंसा न्यूनीकरण गर्न र उनीहरूको व्यक्तित्व विकासका लागि म निरन्तर लागि परिररहेकी छु ।

अहिले हरेक क्षेत्रमा महिलाहरूलाई ३३ प्रतिशत सहभागिता अनिवार्य गराउनुपर्ने भन्ने नयाँ संविधानले नै व्यवस्था गरेको छ । तपाईंको अनुभवमा अहिले हरेक क्षेत्रमा महिलाहरूको सहभागिता कस्तो पाउनुभएको छ ?
राष्ट्रपति, सभामुख र प्रधानन्यायाधीश महिला हुदैमा महिलाहरूका सवाल सकिन्छ भन्ने मान्यता अहिले अगाडि सारिएको छ । त्यो ज्यादै गलत छ । महिलामैत्री संविधान त बन्यो तर सो अनुसार हरेक क्षेत्रमा महिलाहरूको समान सहभागिता भएकै छैन । दुरदराजका महिलाहरू अहिले पनि आफ्नो अधिकार प्रयोग गर्नबाट वञ्चित भइरहेका छन् । यही बीचमा सरकारले बैशाख ३१ गते स्थानीय निकायको निर्वाचन तोकेसँगै मैले पनि दुधौली नगरपालिकामा मेयरका लागि उम्मेद्वारी दिने तयारी गरिरहँदा सबै पार्टीका पुरुष साथीहरूले अर्कै दृष्टिले हेर्ने काम भइरहेको छ । अहिले पनि पितृसत्तात्मक संस्कारका कारण महिलाहरू उपेक्षित छन् । सबै पार्टीहरूले क्षमतावान् महिला नेतृहरूलाई मेयरपदमा उम्मेद्वारी दिनुपर्छ । नभए ३३ प्रतिशतको सहभागिता भन्नेकुरा केवल संविधान र कागजमामात्र सीमित हुन्छ ।

आउने स्थानिय निकायको चुनावमा महिला उम्मेदवारका लागि चुनौती के देख्नुभएको छ ?
जित्ने महिलालाई टिकट दिनुपर्ने हो तर फलानो र ढिस्कानुको मान्छे भन्दै अरुलाई टिकट दिने अवस्था आउने देखिन्छ । अर्को दलको महिलाले जिते पनि हुन्थ्यो तर पुरुषले जितिदिन्छ । हामीले कुनै पनि विषय अघि बढाउन त्यसको सम्भावना, परिणाम र प्रभावबारे अध्ययन गर्न आवश्यक छ। महिला संगठनहरुले पनि आफ्नो मानिसभन्दा पनि सक्षम र इमान्दार महिला जुन संगठनको भए पनि कसरी जिताउने भनेर लाग्नुपर्छ । विश्वका कैयौ देशभन्दा नेपालमा पक्कै पनि महिलाको राजनीतिमा सहभागिता राम्रो छ । तर सञ्चारमाध्यमहरूले पनि सामाचार लेख्दा ध्यान दिनुप¥यो। पहिलो संविधानसभाको चुनावपछि चुरा बझाउँदै, भाँडा माझ्दै, घाँस काट्दै गरेका महिला सभासद् भए भन्ने जस्ता समाचार आए । महिलालाई चुरा लगाउन, भात पकाउन र घरको काम गर्न सिकाएको छ त, त्यो हुने नै भयो ।

सुन्नुस न ! यो चुनावमा बढी नै उत्साहित देखिन्छन महिलाहरु, किन होला ?
यो हिजोको स्थानीय चुनाव होइन । यसमा यति धेरै शक्ति छ, स्थानीयरूपमा सिंहदरवार सरेको हो । हिजो २००९ सालमा बिपी कोइरालाले ल्याउनुभएको विकेन्द्रीकरणको अवधारणा २०७३ सालमा लागु हुन थालेको हो । दिदिवहिनीलाई हेर्छु यसले मेयर लडिदिए हुन्थ्यो भनेर लागेको हुन्छ, सोध्यो उपमेयरको कुरा गर्छन् । क्षमता भएका महिलाले पनि आफूलाई अलि तल राखेर कुरा गर्ने देखेको छु ।

भनेपछि अहिले महिलालाई चुनौती र अवसर दुवै छ...
अहिले हामीलाई चुनौती र अवसर दुवै छ । अहिले महिलामा पनि हामी त्यहाँ जानसक्छौं भन्ने त्यति देखेको छैन । म लड्छु र गर्न सक्छु भन्ने हिम्मत राख्न सकिएन भनेर मानिस अघि बढ्दैन । बच्चा त च्याँ गरेर नरोइकन भोक लागेको छ भनेर खुवाउँदैनन् भने राजनीतिमा सहभागिता झनै चुनौतीपूर्ण छ । शीर्ष स्थानमा पुग्ने एक दुईजना मात्रै हो त्यसले म को हुँ, कहाँ छु र क्षमता के हो भनेर मध्यनजर राख्दै आफ्नो क्षमता विकास गरेर अघि बढ्न सकियो भने केही हासिल गर्न सकिन्छ । उपमेयरमा पनि महिला ५० प्रतिशत आउँछन् जस्तो लाग्दैन । अहिले धेरै होलाल्ला गरिसकियो तर महिला उठेको ठाउँमा अरु दलसँग मिलेर अर्कोलाई जिताउने गर्न बेर छैन । एउटा दलले पुरुषलाई मेयर दिन्छ र अर्को दलले उपमेयर दिन्छ । हिजो संसदीय निर्वाचन त्यस्तै भएको थियो । त्यसैले महिलाले पनि फेमवर्कभन्दा माथि निस्केर एउटा महिलाका लागि के के गर्न सकिन्छ, गर्नुपर्छ ।

यसपटक धेरै महिला नेता तयार हुनेमा विश्वस्त हुनुहुन्छ ?
कांग्रेस र अरु दलमा पनि महिलाबीचै एकता भएन । एकता अलि बढी हुने र पार्टीले अलिकति सकारात्मकरूपमा लिइदिने हो भने महिलाको प्रतिनिधित्व ५० प्रतिशतभन्दा माथि जान्छ । तर कानुनले तोकेबमोजिम पनि काम गर्दा छल्ने काम हुन्छ । पछिल्लो संविधानसभा चुनावको समयमा प्युठान र धादिङ त्यसको उदाहरण बने। जित्ने सम्भावना भएको महिलालाई नदिने र टिकट दिए पनि जनाधार कमजोर भएको स्थानमा उम्मेदवार बनाउने काम भयो । अबचाहिँ त्यस्तो भएन भने निश्चितरूपमा धेरै महिलाले जित्नेछन् । महिलाभित्र पनि समस्या छ । जानेर हो वा नजानेर महिलाले नै महिलाकै कुरा काटिरहेका हुन्छन् भने खुट्टा तान्ने काम पनि हुन्छ । एउटा कारण आर्थिक हो भने अर्को पितृसत्तात्मक सोच पनि हो । केही कसैको केही परिहाल्छ, यो गई भने आफू तल परिन्छ भनेर असहयोग गर्ने कामचाहिँ बन्द हुनुपर्छ ।
 
तपाईँ आफूलाई आफ्नो पार्टीले दुधौली नगरपालिकाको मेयर पदका लागि टिकट दिन्छ भन्नेमा कत्तिको विश्वस्त हुनुहुन्छ ?
सहज तरिकाले मलाई मेयरका लागि टिकट दिन्छ भन्ने चाहिँ लागेको छैन । तर पनि पाउनका लागि संघर्ष गर्नेछु । यदि मजस्ता सक्षम महिलाहरूलाई मेयर पदका लागि टिकट दिइँदैन भने हरेक क्षेत्रमा ३३ प्रतिशत महिलाहरूलाई सहभागिता गराउने भन्ने कुरा केवल भाषणमामात्र सीमित हुने छ । जसले पार्टीलाई नै नोक्सान पु¥याउँछ । यहाँ अचम्म लाग्दो कुरा के छ भने महिला भएकै कारण उपमेयर, उपाध्यक्ष र वडाध्यक्षमा उठिदिनुपर्ने भन्ने पितृसत्तामक सोच छ यो मान्य हँुदैन । आउँदो ३१ गतेको स्थानीय निकायको निर्वाचनमा महिलाहरूलाई नेतृत्व तहमा ३३ प्रतिशतको ग्यारेण्टी गरिनुपर्छ । यदि ३३ प्रतिशतको सहभागिता नगरे पार्टीले अपेक्षा गरेअनुसारको प्रतिफल पाउन नै सक्दैनन् । महिलाहरूले मुख्य पदमा उम्मेद्वारी नदिए प्रतिनिधि र राष्ट्रियसभामा महिलाहरू नै पुग्दैनन् । कसैलाई काखा र पाखा नगरी योगदानको मूल्याङ्कन गर्न जरुरी छ । महिला भएकै कारण उपप्रमुखको व्यख्या र विश्लेषण कुनै पनि पार्टीले नगरोस् भन्ने मेरो आग्रह हो । उपप्रमुख होइन, प्रमुखमा महिलाहरूलाई अगाडि बढाउनुपर्छ भन्ने लाग्छ ।

नगरका जनताहरूको विकासप्रतिको अपेक्षा चाहिँ कस्तो पाउनुभयो नि ?
नगरवासीहरूको विकासप्रतिका अपेक्षा ठूला छन् । अझै पनि विकासका योजनाहरू टाठाबाठाहरू भएका स्थानमा मात्र गइरहेका छन् । नगरपालिकाको पहुँच नभएका वडाका बासिन्दाहरू रहेका स्थानहरूमा विकासका योजनाहरू गएकै छैनन् । विकासका लागि जनताहरू नगरपालिकासँग सहकार्य गर्न तयारी अवस्थामा बसेका छन् । अबका दिनमा विकासका योजनाहरू समान तरिकाले आवश्यकताका आधारमा दुरदराजका वडाका टोलटोलमा लैजान जरुरी छ भन्ने मेलै अनुभव गरेकी छु ।

तपाईंले आफूलाई मेयर पदको उम्मेद्वारका रूपमा अगाडि सार्नुभएको छ । यो नगरलाई समृद्ध बनाउनका लागि तपाईंका योजनाहरू के के छन् ?
सबैभन्दा पहिला दीर्घकालीन विकासका योजना बनाएर अगाडि बढ्नेछु । ओझेलमा परेका पर्यटकीय स्थलहरूको संरक्षण र विकासका लागि पहिलो प्राथमिकता दिने छु । मापदण्ड अनुसार घर तथा भवन निर्माणलाई व्यवस्थित गर्ने छु । जग्गाहरू अनावश्यक रूपमा प्लटिङ गरिएका छन् । त्यस कार्यलाई पनि व्यवस्थित गर्ने योजना छ । नेपालकै नमूना नगर बनाउनका लागि विशेष योजनाका लागि विशेषज्ञहरूको टोलीसँग सहकार्य गरेर अगाडि बढ्ने छु ।

यदि तपाईले मेयरका लागि टिकट पाउनुभयो भने चुनावी एजेण्डाहरू चाहिँ के राख्नुभएको छ ?
सर्वप्रथम त विकासका योजनाहरूलाई नै म चुनावी एजेण्डाहरू बनाउने छु । त्योसँगै महिलाहरूलाई आर्थिक रूपमा सक्षम बनाउनका लागि उनीहरूको इच्छाअनुसार नेतृत्व विकाससँगै सीपमूलक तालिम प्रदान गरी सहुलियत दरमा ऋण उपलब्ध गराउन पहल गर्ने र उनीहरूले उत्पादन गरेका वस्तुहरूको राम्रो बजारको व्यवस्था गर्ने, शान्तिसुरक्षाको प्रत्याभूति दिलाउने, वातावरणीय, शैक्षिक, व्यापारिक र विकासका हिसाबले नमूना बनाउनका लागि योजनाहरू ल्याउने लगायतका एजेण्डाहरू अगाडि सार्ने सोचाइ छ ।

निजी क्षेत्रसँग यहाँ कसरी सहकार्य गरी अगाडि बढ्नुहुन्छ त ?
निजी क्षेत्रबिना नगरको विकास सम्भव छैन । त्यसैले सहकार्य गरी अगाडि बढ्ने छु । व्यवसाय र उद्योग सञ्चालनका विशेष सुरक्षा र सुविधाका लागि पनि सहकार्य गरिने छ । विकासका लागि साझेदार संस्थाका रूपमै निजी क्षेत्रहरूलाई लैजाने योजना पनि रहेको छ ।

नगरलाई आर्थिक क्षेत्रमै सक्षम बनाउन के गर्नुपर्ला जस्तो लाग्छ ?
नगरपालिकाको आन्तरिक स्रोतबाट मात्रै विकासका योजनाहरू पूरा गर्न सकिँदैन । जनताहरूको विकासप्रतिको रुचि हेर्दा स्थानीय स्रोतबाट बजेट जुटाउनेसँगै केन्द्रीय तहबाट पनि विशेष पहल गरी बढीभन्दा बढी बजेट ल्याउनुपर्छ । त्यसको अलवा संघीयताअनुसार नै राजस्व संकलन, कर प्रणालीलाई वैज्ञानिक र व्यवहारिक बनाउनु पर्छ । नगरवासीलाई कर तिर्न जाउँजाउँ भन्ने भावना जागृत गराउने खालका कार्यक्रमहरू नगरपालिकाले ल्याउनुपर्छ र विकासलाई समान तरिकाले सबै क्षेत्रमा पु¥याउनुपर्छ भन्ने लाग्छ ।

निर्वाचनप्रति जनताको उत्साह कस्तो पाउनुभएको छ ?
गाउँ निर्वाचनमय भएको छ । जनताहरू मत हाल्न एकदमै उत्साहित छन् । सरकारले निर्वाचन रोके पनि जनता मतदान गर्न रोकिने अवस्थामा छैनन् । अब हाम्रो भनाइको सुनुवाइ हुने भयो भन्नेमा जनताहरू छन् । जनताहरूले सक्षम व्यक्तिलाई मेयर उपमेयरमा जिताउने भनिरहेका छन् ।

समयको लागि धन्यवाद........
तपाईलाइ पनि विषेश धन्यवाद छ ।

 

 

प्रतिकृया दिनुहोस