सिन्धुली खबर

गोलन्जोरका महिलाहरु तरकारी खेतीमा आकर्षित

माघ २२, सिन्धुली । सिन्धुलीको गोलन्जोर गाउँपालिकाका महिलाहरुले तरकारी खेतीबाट मनग्य आम्दानी लिन थालेका छन् । गोलन्जोर गाउँपालिका वडा नं.५ रतनचुराकी महिलाहरुले मौसमी तथा वेमौसमि तरकारी खेती गर्दै वर्षमा लाखौँको आम्दानी लिन थालेका हुन । गोलन्जोर गाउँपालिका ५ की सपना थापाले अहिले तरकारी खेती गर्दै आएकी छिन ।

तरकारी खेतीबाट बार्षिक डेढ लाख देखि अढाई लाख सम्म आम्दानी गर्न थालेको थापाले बताइन । थापाले तरकारी खेतीबाट प्राप्त कमाईले छोरीको रुचि अनुसार कृषि विषय लिएर नै पढाउदै छिन । थापाले भनिन, ‘एउटा छोरी, श्रीमान र आफु गरी ४ जनाको परिवार तरकारी खेतीबाट प्राप्त आम्दानीबाटै चलेको छ ।’

गोलन्जोर गाँउपालिका ५ की अर्की मेहेनत महिला कृषक साबित्रा थापाले पनि बारी भरी तरकारी , जूनारको बगैचा ,गोठमा गाई र खोरभरी बाख्रा पालन गरेकी छिन । एउटा घरको कुशल अभिभाक र सन्चालक दुबैको भुमिका निभाउदै आएकी सावित्राको आम्दानीको स्रोत यी नै हुन । उनले तरकारी बेचेर बार्षिक रुपमा ४ लाख आम्दानी लिदै आएकी छिन । कृषि व्यवसायबाट परिवार चलाउन सहज भएको उनले बताइन । छोराछोरी लाई रुचि अनुसारनै पढाएको छु । कृषि पेशा बाट आएको आम्दानीले छोराछोरीलाई राम्रो शिक्षा दिन, खानलाउन राम्रोसंग पुग्छ उनले भनिन ।

गोलन्जोर गाउँपालिका ५ कै कृष्ण माया मंग्राती आफुलाई कृषक भन्न रुचाउछिन । अघिल्लो बर्ष उनले टनेलमा टमाटर खेति गरेर १ लाख बिस हजार आम्दानी गरिन । १३ बर्षको उमेर मा उनको बिवाह भयो , बिवाह पश्चात उनले थुप्रै अपहेलना र लान्छना सहनु पर्‍यो । कारण पैसानै हो भन्ने उनलाई यतिबेला लागेको छ । यदि महिलाहरुले आफैले कमाउन सक्ने भएको भए त्यसरी घरपरिवार बाट अपहेलना सहनुनै पर्ने थिएन भन्छिन उनि, आज कमाई गर्न सक्दा र हिजो कमाई गर्न नसक्दाको दिनले नै प्रस्टाएको बताइन ।

उनीहरुले टमाटर,बोडी,साग, खोर्सानी, सिमि लगाएतका तरकारी खेती गर्दै आएका छन् । सिन्धुलीमा कृषि व्यवसायमा राम्रै सम्भवना भए पनि अहिले सम्म कसैले चासो दिएर कृषी पेसा गरेको देखिदैन । विशेष गरेर गोलन्जोर गाउँपालिका, जलकन्या, जुनार, सुन्तला लगाएतका फलफुल र विभिन्न तरकारी राम्रै उत्पादन हुने क्षेत्र हो ।

प्रतिकृया दिनुहोस