सिन्धुली खबर

स्व.कोइरालाको स्मृति दिवस सिन्धुलीमा पनि मनाईयो

पुस्कर सहयात्री– 
२६ माघ, सिन्धुली । नेपालको संविधान २०७२ जारी गर्ने नेतृत्वदायी भुमिका निर्वाह गरेका पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका तत्कालीन सभापति स्वर्गीय सुशील कोइरालाको दोस्रो स्मृती दिवस सिन्धुलीमा पनि एक कार्यक्रमको आयोजना गरि मनाईएको छ । 

नेपाली कांग्रेस सिन्धुलीका बयोबृद्ध नेता बाक्सिङ लामाको संयोजकत्वमा नेपाली कांग्रेस सिन्धुलीको पार्टि कार्यालयमा स्व. कोईरालाको तश्विरमा माल्यार्पण गर्दै उनको दास्रो स्मृति दिवस मनाईएको हो ।  ०४६ सालको जनआन्दोलन पछि ०४८ र ०५६ मा बाँके क्षेत्र नं. २ बाट सांसदमा विजयी भए पनि सत्ता र शक्तिलाई छाडेर पार्टी संगठनमा बस्न रुचाएका स्वर्गिय कोईरालाको राजनितिक बृत्तको वारेमा चर्चा गर्दै सिन्धुली क्षेत्र नं. २ का पुर्व सभाषद तथा नेपाली कांग्रेस सिन्धुलीका पुर्व पार्टी सभापती मोहन प्रशाद बरालले विशेश्वर प्रसाद कोइरालाको प्रजातान्त्रिक समाजवादी धारणाबाट प्रेरित भई २०१० सालदेखि स्व. कोईराला राजनीतिमा सक्रिय रहँदै आएका बताए । 

वि. सं २०१७ मा प्रजातन्त्रको अपहरणपछि स्व. कोईराला १६ वर्षसम्म भारतमा स्व–प्रवासमा रहेका थिए । प्रवासमा रहँदा उनले नेपाली कांग्रेसको मुखपत्र तरुणको सम्पादन गरेका थिए । उनले नेपाल र भारतमा गरी करिब पाँच वर्ष राजनैतिक बन्दीजीवन बिताएका थिए । पुर्व सभाषद बरालले वि.सं २०३६ मा नेपाली कांग्रेसको केन्द्रीय सदस्य भएका सुशिल कोईराला २०३६ सालको जनमत सङ्ग्रहमा बहुदलीय प्रजातन्त्रका पक्षमा अभियान चलाउनुका साथै २०४२ सालको सत्याग्रह र २०४६ सालको ऐतिहासिक जनआन्दोलन १ मा सक्रियरूपमा लागेका कोईरालाको नेपाली राजनितिक ईतिहासमा अमुल्य योगदान रहेको उल्लेख गरे ।

करिब पाँच दशक राजनीतिमा बिताएका कोइरालाले ०४६ सालपछि कांग्रेस नेतृत्वमा पटक पटक सरकार बन्दा पनि मन्त्री पद अस्वीकार गरेको कुरालाई स्मरण गर्दै नेपाली कांग्रेस सिन्धुलीका महासमिति सदस्य तथा पुर्व पार्टी सचिव उपेन्द्र कुमार पोखरेलले स्वर्गिय शुसिल कोईराला एक सादा जिवनपद्दती अनुरुपका नेताका रुपमा चिनिएको चर्चा गर्दै २०३५ सालदेखि कांग्रेस केन्द्रीय सदस्य रहेका कोइराला महामन्त्री, उपसभापति हुँदै पूर्वसभापति स्वर्गीय गिरिजाप्रसाद कोइरालाको कार्यकालमै कार्यवाहक सभापति बनेका बताए ।

समकालीन नेताहरूमध्ये कोइरालाको जीवनशैली निकै सादा मानिन्छ । स्व.कोईरालाको अगुवाईमा आफ्नो नेतृत्वमा पार्टीभित्र मूल्यमान्यताको संस्कार सुरू गर्ने, सामूहिक निर्णय, प्रक्रिया अनुसार पार्टी सञ्चालन गर्ने, मूल्यांकन र अनुशासन पद्धति विकास गर्ने जस्ता संस्कारको विकास गरेको पोखरेलले बताए ।

स्मृति सभामा जिल्ला कार्यसमिती सदस्य ओलक मोक्तान, पुर्व पार्टी कोषाध्क्ष शरद प्रशाद आचार्य, ने. वि. संघ २ नं. क्षेत्रका सभापती रमेश कार्की, जिल्ला अस्पताल सिन्धुलीका अध्यक्ष शुवास कार्की लगाएतले स्व. कोईरालाको जिवन र उनले नेपालको राजनितिक जिवनमा पु¥याएको योगदानको वारेमा चर्चा गरेका थिए ।

पिता बोध प्रसाद र माता कुमुदिनीका ज्येष्ठ सुपुत्रका रूपमा सन् १९३९ मा विराटनगरमा जन्मिएका कोईरालाको २०७२ साल माघ २६ गते निमोनियाको कारण निधन भएको थियो ।
२०६७ भदौ २५ गतेदेखि नेपाली कांग्रेसको सभापति भएका कोइराला २०७० माघ २७ गते संसदबाट प्रधानमन्त्रीमा निर्वा्चित भएका थिए । उनले २०७२ असोज २३ गते प्रधानमन्त्री पदबाट राजिनामा दिएका थिए । नेपालका ३७ औं प्रधानमन्त्री भएका कोइरालाकै कार्यकालमा नेपालको नयाँ संविधान जारी भएको हो ।  
 

प्रतिकृया दिनुहोस