सिन्धुली खबर

भूकम्प पिडितका घाँटी सुक्न थाले, खानेपानी दिने कोही भएनन्

पुस्कर थापा
सिन्धुली । 

महाभुकम्पले सुनकोशी, मरिण, गोलञ्जोर, फिक्कल, हरिहरपुरगढी गाउँपालिका र कमलामाई नगरपालिकाका खानेपानीका स्रोतहरु र पानी वितरणका संरचनाहरु भत्काईदिएपछि विगत तीनवर्ष देखि यस क्षेत्रका ३२ सय घरपरिवारका नागरिकहरुको घाँटी सुक्न थालेको छ ।  खानेपानीको अभावले पशुपालनमा समस्या आएको छ । वालवालिकाको पढाई विग्रन थालेको छ । कोही बसाइँ सर्न थालेका छन् । 

भूकम्पले क्षति पु¥याएका यस जिल्लाका १७ वटा खानेपानी आयोजनाहरु अझै पनि अलपत्र राखिएकाले यस्तो अवस्था आएको हो । यहाँ खानेपानीको पुनस्थापनाका लागि बजेट आएपनि काम शुरु गर्न कसैले चासो लिएको छैन । जिल्लाको सुनकोसी गाउपालिकामा पर्ने धोविखोला आयोजना, जरायोटारको सान्दाने खानेपानि आयोजना, कुशेस्वर दुम्जाको सादि खानेपानि आयोजना, कपिलाकोटको मुग्रे सामरि खानेपानि आयोजना लगाएत १७ वटा खानेपानी आयोजना अझै अलपत्र अवस्थामा भएको कारण यस क्षेत्रका स्थानियलाई खानेपानिको समस्या भएको हो ।

भुकम्पले पानिको मुहान सुकाईदिए पछी खानेपानिको व्यवस्था हुन नसक्दा सुनकोशीको माथिल्लो भेगका बासिन्दालाई दैनिक २ घण्टा हिडेर सुनकासीको पानि ओसार्नु पर्ने बाध्यता छ । सुनकोशी नदिमा वगेको पानी भरेर ल्याएर घरमा खाने गर्नाले स्वास्थमा गम्भिर असर पर्ने गरेको स्थानिय कुलमाया आले वताउछिन् । नदिको पानि खाने गर्नाले पेट दुख्ने, पखाला लाग्ने जस्ता स्वास्थ समस्या देखा पर्ने गरेको उनले वताईन । 

कमलामाई नगरपालिका वडा नं ४ का मोहन कुमार देवकोटाको गुनासो छ— ‘स्थानीय निकायको निर्वाचनमा अनेक वाचा गरेर जितेका जनप्रतिनिधि हाम्रो समस्या के छ भनेर सोध्न आएका छैनन् ।’ उनी भन्छन्— ‘गाउँगाउँमा सिंहदरवारको त कुरै छाडौ, घरमा शुद्ध पिउने पानि एक अम्खोराको व्यवस्था छैन । घरबाट ५०० मिटरमा रहेको ग्वाङ्गखोलाको पानी गाग्रीमा भरेर खानुपर्छ । ‘खोलाको पानि अत्यन्त फोहोर हुन्छ खानु हुदैन भन्ने थाहा छ त्यसैमाथी म पुर्व स्वास्थकर्मी पनि हँु, खोलाको पानि नखाआँै भनेर गाउगाउ चेतना जगाउदै पनि हिडियो तर भुकम्पले घर भत्काईदिएपछी वसाई सरेर याहा आए, याँहा आफैले खोलाको पानि खानुपर्छ —उनले भने ।’ 

मोहन देबकोटा संगै कमलामाई नगरपालिकाको वडा नं. ४ को कुलाबाधका १५ घरपरिवार अहिले खोलाको पानि खान बाध्य छन् । लामो खडेरिका कारण सुक्दै गएको ग्वाङ्खखोलाको पानि बर्षातको समयमा पनि उपभोग गर्नुपर्ने व्याध्यता याहाको बासिन्दालाई छ । यस क्षेत्रमा धारा, कल, ईनारको व्यवस्था छैन । ‘व्यक्तिगत लगानिमा कात्तिके मुहानबाट खानेपानि ल्याईएको छ तर खडेरिमा मुहान सुकेर पानि खान पाईदैन भने बर्षातको समयमा मुहान बगाएर लैजान्छ कहिल्यै शुद्ध खानेपानि पिउन नपाउने भएऔ कुलाबाधका स्थानिय राजन राईले भने । ’

सुनकोशी गाउपालिका खाल्टे शितलपाटीकी चुनमाया तिमल्सिना भन्छिन्, ‘बिहान ५ वजे लाईनमा बस्न नसके एक गाग्री पानी नपाईने हो कि भन्ने चिन्ताले रातभर निन्द्रा पर्दैन । ’ 

खाल्टे शितलपाटीको एउटा बस्तिमा १४ घरपरिवार छन् । खानेपानी उपभोगका लागि उक्त समुदायमा बिहान ५ वजे १४ गाग्री र बेलुका ५ वजे १४ गाग्री पानी गरि दिनमा जम्मा २८ गाग्री पानी मात्रै धारामा आउने गरेको छ । खानेपानी लिने धारामा भेटिएकी सित्तलपाटी ९ कि चुनमाया तिमल्सिनाले भनिन, “झिसमिसेमा उठेर लाईनमा नबसे त एक गाग्री पानी पनि पाईदैन । त्यतिले काम चलाउनु पर्छ ।’ 

यस समुदायबाट करिब १४ कि.मी टाढा रहेको भण्डारेखोलाको मुहानबाट यस पिउनेपानीको व्यवस्थापन गरिएको छ । ‘मुहानमा पर्याप्त पानि नहुदा स्थानियको समझदारिमा एक जना पानि खोल्ने सहयोगिको व्यवस्थापन गरि बिहान वेलुका मुहानबाट पानि खोल्ने वन्द गर्ने व्यवस्था गरिएको छ —स्थानिय हस्त वहादुर थापाले वताए ।’ सवै घरलाई एक एक गाग्री पानि पुगेपछी सहयोगीले मुहान वन्द गरिदिन्छन —थापाले भने ।’ 

यस बस्तिका १४ घरले आफुले पाउने १ गाग्री पानि लिन सबेरै धारामा गाग्री लाईन लगाउँछन् । नत्र आफुले पाउने एक गाग्री पानी पनी अर्कैले थापेर लगिदिन्छ । भण्डारेखोला मुहानमा पानिको पर्याप्त व्यवस्था नहुदा यस समुदायबाट ४ किमि टाढा रहेको रानिखोलाको मुहानबाट खानेपानि उपभोग गर्ने योजना भएपनि रानिखोलाका स्थानिय संगको विवादमा उत्त मुहान संचालन गर्न सकिएको छैन । 

यस विवाद समाधान गरि रानिखोलाको मुहान बाट खानेपानिको व्यवस्थापनका लागी स्थानिय संग छलफल भईरहेको सुनकोसी गाउपालिकाका प्रमुख दिपा बोहोराले वताईन ।’ 


यस क्षेत्रमा सरकारी तथा ग्रैहसरकारी संस्थाहरु पनि कार्यरत छन् । ती सवैले खानेपानीको समस्या समाधान हुन्छ भन्छन्, तर पानीको व्यवस्था कसैले पनि गरेका छैनन् । समुदायका हस्तवहादुर थापा भन्छन् –‘ भुकम्पले खानेपानका सवै मुहान सुकाई दियो । यहाँ ३० किमि टाढा मतानबासवाट नेपाल रेडक्रससंगको सहयोगमा थोरै पानी ल्याइएको छ । पहिले दिनमा २ गाग्री सम्म पानी पाईन्थ्यो, अहिले एक गाग्री पाईन्छ । पानी पनि धित मारेर खान पाईदैन ।’ उनी गुनासो गर्छन्—‘चुनावताका मत माग्न आउँदा सबै समस्याको समाधान गर्ने वाचा गरेका जनप्रतिनिधिहरुले खानेपानीको व्यवस्था गर्न चासो नदिएको देख्दा दुख लाग्छ । 

...........
गर्मीयाम शुरु भए संगै महाभारत क्षेत्रका अधिकांश समुदायमा खानेपानीको चरम अभाव हुन थालेको छ । पानीका मुहान सुक्दै जान थालेपछि यहाँका समुदायमा एकगाग्री पानी लिन दुई घण्टासम्म हिँडेर सुनकोशी सम्म पुग्नुपर्ने वाध्यता छ ।

खानेपानीको जोहो गर्न घरको एकजना मान्छे दिनभर खटिनुपर्ने वाध्यता रहेको बताउँदै सुनकोशी गाउपालिका ९ खाल्टेकी निर्मला श्रेष्ठ भन्छिन्, “आसपास पानीको मुहान छैन एक घण्टा हिँडेर एक गाग्री पानी ल्याउन कोशी पुग्नुपर्छ, परिवार र बस्तुभाउका घाँटी भिजाउने पानी ओसार्दैमा एकजनाको दिन बित्छ ।”

उनी भन्छिन् —‘घरमा दुई जनाले पानी नओसारे वस्तुभाउले पानी खान पाउँदैनन् । केटाकेटीहरुले पढ्ने समय पाउँदैनन् । स्थानीय रंगलाल पौडेलले थप पीडा सुनाए, “एक गाग्री पानी भर्न एक घण्टा लाईन बस्नुपर्छ । पानी लिन जाने केटाकेटीहरुलाई समयमै स्कूल विद्यालय पठाउन सकिँदैन । तिनको पढाइ बिग्रन थालेको छ । स्थानिय चम्पादेबी श्रेष्ठकी छोरी यसोदा श्रेष्ठले भनिन —‘आमावुवा बिहान बेलुका घरधन्दा, बस्तुभाउ गर्नमै व्यस्त  हुनुहुन्छ, पानि भर्न जान भ्याउनुहुन्न अनि मलाई जाउ भन्नुहुन्छ, सवैलाई हतार हुन्छ पानि भर्न कुर्दाकुर्दै कहिलेकाही त स्कुल जानै ढिलो हुन्छ खाना खान पनि भ्याईदैन ।’

  

स्थानीय वासिन्दाहरुको भनाई अनुसार, पानीको यस्तै अभाव रहिरह्यो भने अब वस्तुभाउ पाल्न सकिँदैन । गरीव किसानका आयस्रोत बनेका पशुधन नै पाल्न नसकिने अवस्था आएमा यस क्षेत्रलाई गरीवीले गाँज्नेछ । 

 सुनकोशी गाउँपालिकाकी प्रमुख दिपा बोहोराले भनिन्, “गढतिरको बस्ती भएकोले भएका पानीका मुहान पनि भूकम्पले भत्काई दिएकाले खडेरीको समयमा सुके । अब लिफ्ट प्रणालीबाट सुनकोशीको पानी माथि चढाउनु बाहेक अर्को विकल्प छैन । अब यही गर्न लागि परेका छौं । समुदायलाई पानी खुवाउने उपायमा लागेका छौं । ” 

सुख्खायाम शुरुभएसँगै एकातिर पानीको स्रोत सुक्न थालेको छ भने अर्कोतिर बनमा जथाभावी डढेलो लागेकोले खानेपानीका पाईप डढेका छन् । सिन्धुलीको गोलञ्जोर गाँउपालिका साविकको भुवनेश्वरी गाविसको वडा नं. ४, ५, ६ र ७ का २५० घरपरिवारले धाराको पानी पाएका छैनन् । 

पानीको अभावले बसाइँ सराइ

गोलञ्जोर गाउँपालिकाको वडा नं. ३ को ओख्लेमा खानेपानीको अभाव भएपछि गलाल्टार वसाई सरेर आएका सूर्यवहादुर वस्नेतले भने, गढतीरका पानीका मुहान सुक्दै गएकाले ढुंगेधारा, इनार र पोखरीका पानी सुकेपछि त्यहाँ बस्न सकिएन बसाइँ सरियो । यता पनि उही हाल छ । अब कता जाने ?

गोलञ्जोर गाउँपालिका वडा नं ३ का वडा अध्यक्ष पुष्कर वरालले भने— ‘ पानीका मुहान सुके । धारामा पानी आउँदैन । तल सुनकोशीमा पानी छ । लिफ्ट गरेर ल्याउन पर्याप्त स्रोत छैन । वडामा बजेट छैन । गाउँपालिका तथा जिल्लाबाटै काम हुनु प¥यो भनेर जोडबल गरिरहेका छौं । 

जिल्ला खानेपानी तथा सरसफाई डिभिजन सिन्धुलीका प्रमुख ध्रुवदेवप्रसाद कुमालले भने सरकारी खानेपानी आयोजना भन्दा बाहेकका आयोजनाहरुको निर्माण र सञ्चालनको जिम्मा  गाउँपालिका र नगरपालिकामा गएको बताए । खानेपानी डिभिजनले पाँच भागको एक भाग हेर्ने जिम्मा पाएको छ । 

२०७२ वैशाख १२ गतेको विनाशकारी भुकम्पबाट सिन्धुलीमा क्षतिग्रस्त भएका २८ वटा खानेपानी आयोजनाहरु १७ आयोजनाहरु अहिले सम्म पनि अलपत्रै छन् । जिल्लाका १७ वटा खानेपानी आयोजनाहरु पुनःनिर्माणका लागि बजेट अपुग भएको कारण देखाएर अलपत्र छाडिएका छन् । सम्पन्न आयोजनाहरु पनि कतिपय मुहान सुकेका कारण उपभोगमा छैनन् । 

राष्ट्रिय पुनःनिर्माण कोषबाट जिल्लाका २८ वटा खानेपानी आयोजनाहरुको पुनस्थापना तथा पुनःनिर्माणका लागि आर्थिक वर्ष २०७४ र ०७५ मा ४२ लाख बजेट आएको छ । क्षति आयोजनाहरुमा ५० हजार देखि १ लाख ५० हजारसम्म बजेट राखिएको छ । डिभिजन प्रमुख ध्रुवदेवप्रसाद कुम्हाल भन्छन्, त्यो बजेट त हात्तीको मुखमा जीरा जस्तो हुन्छ । 


 

प्रतिकृया दिनुहोस