सिन्धुली खबर

काठमाडौ, सिन्धुलिगढी र रामजानकिलाई साइकलमा बाधिने

१९ मङ्सिर, सिन्धुली । ब्रिटीस कम्पनीको सेनालाई पराजित गरेको सम्झनामा समृद्ध अभियान सिन्धुलिले सुरु गरेको साइकल यात्रा यस बर्ष सांस्कृतिक सहर जनकपुरधामसम्म विस्तार गरिने भएको छ ।

साइकल यात्रा यहि मंसिर २३, २४, २५ र २६ गते हुने आयोजकले जनाएको छ । 'साइकल यात्राले काठमाडौंलाई ऐतिहासिक सिन्धुलीगढी र सांस्कृतिक सहर जनकपुरधामलाई जोडेर विश्वसामु परिचित गराउने हाम्रो उद्देश्य हो’, साइकल यात्राका संयोजक सौरभ ढकालले भने, 'सिन्धुलीगढीसम्म हरेक बर्ष गरिँदै आएको साइकलयात्रालाई यस बर्ष दुई नम्बर प्रदेशको राजधानीसम्म पुर्याउन लागेका छौं ।

विवाह पञ्चमीमा जनकपुरमा हुने महोत्सवमा सहभागी गराउने गरी साइकल यात्रीलाई लैजान लागिएको ढकालले बताए । अभियानले ऐतिहासिक सिन्धुलीगढीमा तत्कालीन गोर्खाली सेनाले वीरता प्रदर्शन गरेको सम्झनामा हरेक बर्ष मनाइने विजयोत्सवमा साइकल यात्रीलाई सहभागी गराउँदै आएको थियो । यस बर्ष जनकपुरधामलाई समेत जोड्ने गरी बिवाह पञ्चमीका अबसरमा साइकल यात्रा गर्न लागिएको हो ।

'राइड टु सिन्धुलीगढी’ लाई ब्रान्डिङ गरेर हरेक बर्ष ब्यवसायिक साइकलयात्रीलाई सहभागी गराउने योजना अनुरुप समृद्ध सिन्धुली अभियानले यस बर्ष जनकपुरधामलाई जोड्न खोजेको अभियानका संयोजक लीलानाथ घिमिरेले बताए ।

रमणीय वीपी राजमार्गहुँदै हुने साइकल यात्राको मनोरंजन लिन हामीले देशविदेशका साइकल यात्रीलाई हाम्रो आग्रह छ,’ उनले भने, 'हरेक बर्ष हुने साइकल यात्रामा विदेशीलाई समेत सहभागी गराएर यस ऐतिहासिक स्थल सिन्धुलीगढी र सांस्कृतिक शहर जनकपुरको प्रबर्धन गर्ने हाम्रो योजना छ । उनले नागवेली सडक, सुनकोशी तिरैतिरको यात्राले साइकल यात्रीलाई छुट्टै रोमाञ्चक अनुभूति दिने बताए ।

एतिहासिक महत्व बोकेको सिन्धुलीगढी र धार्मिक महत्वको सहर जनकपुरलाई साइकलले जोड्ने प्रयास गरेका छौं, सहआयोजक सानो पाइलाकी परियोजना प्रबन्धक श्रुती झाले भनिन्, साइकल यात्राले पहाडदेखि तराईसम्मका समुदायलाई अझ नजिक ल्याउने हाम्रो विश्वास छ ।

काठमाडौंबाट झण्डै २ सय २५ किलोमिटर यात्रा साइकल यात्रीले तय गर्ने छन् । उनीहरुलाई पहिलो दिन सिन्धुलीको खुर्कोटमा राखिने छ । भोलिपल्ट उनीहरु सिन्धुलीमाढीमा हुने बृहद् सांस्कृतिक कार्यक्रममा सहभागी हुनेछन् । त्यहाँ बास बसेर तेस्रो दिन साइकल यात्रीलाई जनकपुरमा विवाह पञ्चमीमा हुने रामजानकी विवाहोत्सवमा सहभागी गराइनेछ । त्यसको भोलिपल्ट यात्रीलाई काठमाडौं फर्काउने योजना छ । 

विश्वसाकल यात्री पुस्कर शाह र अर्का चर्चित यात्री देवेन्द्र बस्नेतले नेतृत्व गर्ने साइकल यात्रालाई सानो पाइला, फ्याक्ट्स नेपाल, स्टोरी साइकल, कन्सेप्ट नेपाल लगायतका संस्थाको सहयोग रहेको  ।

प्रतिकृया दिनुहोस