सिन्धुली खबर

प्रादेशिक महोत्सवमा रक्सिको प्रचार

पौष १६ सिन्धुली । गएको शुक्रवारबाट सिन्धुलीमाडीमा शुरु भएको प्रदेश नं.३ स्तरिय प्रादेशिक महोत्सवमा विभिन्न ब्रान्डका रक्सिको प्रचार बढेको छ । “कृषी, पर्यटन, जलश्रोत उद्योग क्षेत्रको विकास, समृद्ध ३ नं. प्रदेश निर्माणको आधार” भन्ने मूल नाराका साथ सिन्धुली उद्योग वाणिज्य संघ सिन्धुली र कमलामाई नगरपालिकाको संयुक्त आयोजनामा शुरु भएको महोत्सवमा राष्ट्रिय कलाकारको प्रस्तुती हुँदै गर्दा स्टेजमा रक्सिको बोतल राखी प्रचार गरिएकोप्रती स्थानियको गुनासो छ । 

स्थानिय उत्पादित वस्तुहरुको प्रचार प्रसार एवं विक्री, सम्भावित खानी, उद्योग, जलश्रोत पर्यटन आदि क्षेत्रको जानकारी तथा प्रचार प्रसार, ऐतिहासिक, धार्मिक एवम् सांस्कृतिक लगायका पक्षहरुको प्रचार प्रसारको उदेश्यले आयोजना गरिएको प्रादेशिक महोत्सबमा विभिन्न ब्राण्डका रक्सी सहितको स्टल मुख्य प्रवेशद्वारमा राखिनु र ख्यातिप्राप्त कलाकारको प्रस्तुतिमा स्टेजमै रक्सिका बोतल राखिनुले स्थानिय उत्पादनको प्रचार हो कि रक्सिको प्रचारको लागि महोत्सब ?भन्ने प्रश्न जनमानसमा उब्जेको छ ।  

धुलो ब्यबस्थापन, ध्वनिप्रदुषण नियन्त्रण लगाएतको बिषयमा खासै चासो नदेखाएको आयोजकले खुल्ला स्टेजमै रक्सी प्रचार गर्नमा तदारुकता देखाउनु दुखद पक्ष भएको महोत्सब अवलोकनकर्ता गोलन्जोर गाउपालिका -५ का डोरबहादुर तामाङले बताए । ख्यातिप्राप्त कलाकारको प्रस्तुतिका बेला यस्ता रक्सिको प्रचारप्रसार गर्न जोड दिनु भनेको स्थानिय उत्पादनको प्रचारप्रसारको निम्ति प्रादेशिक महोत्सव हो  भनेर महोत्सवकै खिल्ली उडाउनु उनको तर्क छ । 

जुन उदेश्यका साथ महोत्सव संचालन गरिएको हो त्यसैमा निर्भर भएर महोत्सब संचालन गरिनुपर्ने बताउदै श्री जनता उमाबी खनियाखर्कका शिक्षक सुमन कोइरालाले खुल्ला रुपमा रक्सीको प्रचारप्रसार गरिनु महोत्सबकै बेइज्जत भएको उल्लेख गरे । 

जनस्वास्थ्य सेवा ऐनको दफा ४५ को १ मा मदिरा, चुरोट, सुर्ती तथा सुर्तीजन्य पदार्थ लगायतका मानव स्वास्थ्यलाई प्रतिकूल असर गर्ने कुनै पनि विज्ञापन सामग्रीको उत्पादन, वितरण, तथा प्रचारप्रसार गर्न पाइने छैन भन्ने उल्लेख छ । महोत्सव आयोजकले कानुनको बेवास्ता गर्दै कलाकारको प्रस्तुति भैरहेको बेला स्टेजमै रक्सिको बोतल राखेर प्रचार गरेको हो । २ सय ५० वटा स्टलहरु  राखिएको महोत्सव पुस २२ गते सम्म चल्ने छ ।

प्रतिकृया दिनुहोस